‘उदात्त योगदान सम्मान २०२६’ बाट महानायक राजेश हमाल सम्मानित
टोकियो । गैरआवासीय नेपाली संघ (NRNA) जापानको आयोजनामा तथा INLS JAPAN को सहआयोजनामा सञ्चालन भएको सप्ताहव्यापी मोटिभेसनल कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमालज्यूलाई उहाँको कला, व्यक्तित्व विकास र सामाजिक चेतनामा पुर्याउनुभएको दीर्घकालीन योगदानको उच्च कदर गर्दै ‘उदात्त योगदान सम्मान २०२६’ द्वारा सम्मानित गरिएको छ।
एनआरएनए जापानको इतिहासमै पहिलोपटक ६ वटा विभिन्न क्षेत्रमा केन्द्रित भव्य कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा महानायक हमालज्यूले सकारात्मक सोच, आत्मअनुशासन, निरन्तरता र स्वाभिमान नै सफल जीवनका आधार स्तम्भ भएको उल्लेख गर्दै विदेशमा रहेका नेपाली युवाहरुलाई आफ्नो पहिचान र संस्कृतिप्रति गर्व गर्न आग्रह गर्नुभयो।
कार्यक्रम अन्तर्गत आयोजित बहस सत्र विशेष आकर्षणको केन्द्र बनेको थियो। बहसमा महानायक राजेश हमाल तथा व्यक्तित्व विकास अभियन्ता यज्ञशज्यूको सहभागिता रहेको थियो भने सहजीकरण साहित्यकार तथा सामाजिक अभियन्ता रबिन शर्माले गर्नुभएको थियो। बहस सत्र अत्यन्तै रोचक, विचारोत्तेजक र अन्तरक्रियात्मक बनेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।
कार्यक्रमका सभापति एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने रहनुभएको थियो भने प्रमुख अतिथि जापानका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत महामहिम हरिहर कान्त पौडेल रहनुभएको थियो। कार्यक्रममा जापानस्थित विभिन्न संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरू, बुद्धिजीवी, व्यवसायी, विद्यार्थी तथा युवा वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य अनेसास केन्द्रीय पूर्व अध्यक्ष तथा एनआरएनए विज्ञ समितिका सदस्य प्रकाश पौडेल ‘माइला’ज्यूले राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन एनआरएनए जापानका प्रवक्ता एवम् साहित्यकार रबिन शर्माले गर्नुभएको थियो।
यसैगरी, एभरेस्ट इन्टरनेशनल स्कूल र हिमालयन इन्टरनेशनल एकेडेमीका बाबु–नानीहरूले आफ्नो उत्कृष्ट नृत्य तथा सांस्कृतिक प्रस्तुति मार्फत कार्यक्रमलाई अझै ऊर्जामय बनाएका थिए।
आयोजकका अनुसार, सप्ताहव्यापी मोटिभेसनल कार्यक्रमको श्रृंखला जापानका अन्य सहरहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ। कार्यक्रमले जापानस्थित नेपाली समुदायमा सकारात्मक सोच, सांस्कृतिक एकता र प्रेरणादायी नेतृत्वको सन्देश प्रवाह गरेको विश्वास गरिएको छ।











