हार्दिक आभार व्यक्त तथा अनुरोध
नेपाली राजदूतावास, जापान तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान को सहकार्य एवं क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा घुम्ती सेवामार्फत् कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत २०२३ डिसेम्बर २,३,४ र ५ मा जापानको नागोया सम्पन्न घुम्ती सेवाबाट राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ २९ जना गरि जम्मा ६६५ जना सेवाग्राहीले सेवा लिनु भएको छ।
एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको उक्त कार्यक्रम पूर्णत व्यवस्थित, अनुशासित र मर्यादित रुपमा भएको छ । यसको कुशल व्यवस्थापन गरेकोमा क्षेत्रीय समिति नागोया परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । सेवा प्रदान लागि अहोरात्र खटिनु हुने शिविरमा दूतावासका तर्फबाट द्वितीय सचिव जितबहादुर कार्की, तृतीय सचिव ज्ञानहरि ज्ञवाली, फुकुओकाका वाणिज्य दूत दिपक देवकोटा र टेक्निसियन आबेसानप्रति आभार प्रकट गर्दछौं । सेवा सञ्चालनका क्रममा स्थलगत रुपमा उपस्थित हुनु भै हौसला र अभिभावकत्व प्रदान गर्नु हुने महामहिम राजदूत ज्यू, एनआरएनए जापानका अध्यक्ष नविन निउरे, उपाध्यक्ष कृष्ण गैरे कोषाध्यक्ष दिपक सुनार, सह कोषाध्यक्ष रामबहादुर थापा प्रवक्ता खगराज गौतम तथा एनआरएनएका अग्रज अभियन्ता ज्यूहरुमा धन्यवाद व्यक्त गर्दछु ।
घुम्ती सेवामा एनआरएनए जापानको तर्फबाट सेवा अवधि भर सहजीकरणका लागि सम्पूर्ण भूमिका निर्वाह गरिने छ। दूतावासको घुम्तीटोलीसँग निकटमा रहि व्यवस्थापकीय लगायतका कार्य गरिने छ । मुख्यत एनआरएनए जापानको तर्फबाट व्यवस्थापकीय कार्य अन्तर्गत सेवा सञ्चालनका लागि हल व्यवस्थापन, डकुमेन्टटेशनमा सहयोग, टोलीको खाना, खाजा तथा आवासमा सहयोग, स्वयसेवक परिचालन, जानकारी संकलनका लागि गुगल फारम तयार गरी व्यवस्थित गर्न सहयोग, सूचना तथा जानकारी सम्प्रेषणमा आवश्यक सहजिकरण गरिने छ ।
सञ्चालित यस सेवाबाट दूतावासद्वारा प्रदान गरिने सेवा मध्य मुख्य गरेर राहदानीसहित अन्य कन्सुलर सम्बन्धि सेवा लिनु हुनका लागि सम्बन्धित क्षेत्रका जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा अनुरोध समेत गर्दछौं। सेवा लिनका लागि दूतावासद्वारा जारी गरिएको सूचनामा उल्लेखित आवश्यक प्रक्रिया र कागजात पुरा गरि आउनु हुने समेत जानकारी गराइन्छ । सञ्चालित घुम्ती सेवाबाट जापानबासी नेपाली नागरिकले सहज रुपमा सेवा लिन सक्नेछन् भन्ने विश्वास हामीले लिएका छौं ।
मिति निश्चित भएका क्षेत्रहरुमा तोकिएको मितिमा र अन्य मिति निश्चित हुन बाँकी रहेका क्षेत्रको समेत यथाशीघ्र मिति तय गरिने समेत जानकारी गराउँदछौं। जापानबासी नेपालीको सेवामा एनआरएनए जापान सदा क्रियाशिल रहि रहने प्रतिबद्धता समेत पुन दोहोर्याउन चाहन्छौं । धन्यवाद
सुवास लामिछाने
संयोजक, जापानमा घुम्ती सेवा कार्यक्रम एनआरएनएको तर्फबाट
उपाध्यक्ष, एनआरएनए जापान
२०२३ डिसेम्बर ६ तारिख