जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभन्वित
जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जनाले विभिन्न सेवा लिँदा ९६ लाख ८७ हजार राजश्व संकलन भएको छ।
नेपाली राजदूतावास, जापानलको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान सहकार्य एवं नागोया क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको घुम्ती सेवामार्फत् राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ २९ जना गरि जम्मा ६ सय ६५ जना सेवाग्राहीले सेवा लिएको एनआरएनए जापानका उपाध्यक्ष तथा घुम्ती सेवाका लागि एनआरएनएको तर्फबाट संयोजक रहेका सुवास लामिछानेले जानकारी दिए ।
“एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको उक्त कार्यक्रम पूर्णत व्यवस्थित, अनुशासित र मर्यादित रुपमा भएको छ ।” संयोजक लामिछानेले भने – ‘यसको कुशल व्यवस्थापन गरेकोमा क्षेत्रीय समिति नागोया परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अन्य क्षेत्रमा हुने घुम्ती सेवालाई अझ प्रभावकारी गराउँदै लगिने छ। “
राजदूतावासले दिएको जानकारी अनुसार नागोयाको शिविरमा ५३१ जनाले पासपोर्टको सेवा लिएका छन् । जसमध्ये ४६६ जनाले पासपोर्ट नवीकरण गरेका छन् भने ६५ जना बालबालिकाको नयाँ पासपोर्ट बनाइएको छ । यसैगरी १० जनाले झुत्रा र खराब पासपोर्ट फालेर नयाँ बनाएका छन् । शिविरमा दिइएको जानकारी अनुसार बाँकी ६६ जनाले अन्य सेवाहरु लिएका थिए ।
जापानमा रहेका नेपाली नागरिकहरुलाई दूतावासद्वारा प्रदान गरिने सेवालाई पहुँच योग्य बनाउनुका साथै सरल र सहज रुपमा प्रदान गरिनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै गत वर्षदेखि सञ्चालन गरिएको घुम्ती सेवामा अपेक्षा गरिएभन्दा बढि नेपालीले नागोयाको घुम्ती सेवाबाट सेवा लिएको क्षेत्रीय समिति संयोजक भेषनाथ गौतमले जानकारी दिए ।
‘हामीले ४०० को हाराहारीमा सेवाग्राहीहरु आउने अपेक्षा गरेको थियौँ, तर अपेक्षा भन्दा बढी भयो । राहदानीसहित विभिन्न समस्या लिएर आउने नेपालीलाई दूतावासको समन्वयमा सेवा दिएरै पठाइयो । कोहि पनि सेवाबाट वञ्चित भएनन् ।’संयोजक गौतमले भने । बढी भन्दा बढि सेवाग्राहीलाई सेवा प्रदान गर्नका लागि विगतमा घुम्ती सेवा सञ्चालनका सिकाइ र अनुभवलाई आत्मसात गर्दै यस वर्ष परिष्कृत रुपमा कार्य गरिएकोले कार्यसम्पादनमा सहजता आएको संयोजक गौतमको अनुभव छ।
नागोयाको घुम्ती सेवा सञ्चालनका क्रममा करिब आठ लाख भन्दा बढि खर्च भएको एनआरएनए नागोया क्षेत्रीय समितिका उप संयोजक कुशल पौडेलले जानकारी दिए। ‘घुम्ती सेवाका लागि हुने व्यवस्थापकीय कामका लागि एनआरएनए जापानले सहयोग गरेको छ।’ उपसंयोजक कुशल पौडेलले भने -‘यसपटकको नागोया घुम्ती सेवाका लागि करिब आठ लाख भन्दा बढि खर्च भएको छ। घुम्ती सेवामा आउने सेवाग्राहीबाट राजश्व बाहेक थप रकम उठाइएको छैन । यसको व्यवस्थापन गर्न हामीलाई एनआरएन जापान, क्षेत्रीय समिति नागोया लगायतबाट सहयोग प्राप्त भएको छ।”
नागोयामा सम्पन्न घुम्ती सेवाबाट नेपाल सरकारको नाममा ९६ लाख ८७ हजार रुपियाँ राजश्व संकलन भएको नेपाली राजदूतावासले जनाएको छ। यसरी उठाइएको सबै राजश्व नेपाल सरकारको नाममा जम्मा हुने गर्दछ। यसबाट व्यवस्थापकीय खर्च गर्ने गरिँदैन।
दूतावासले राहदानी नवीकरणको १८ हजार यन तोकेको छ । यसैगरी हराएको, च्यातिएको वा अन्य कारणले प्रयोग गर्न नसकिने राहदानीको ३६ हजार यन र दश वर्षभन्दा कम उमेरका बच्चाको राहदानी नवीकरणका लागि ९ हजार यन राजश्व लिने गरेको छ । भने जाापानमा जन्मेका बच्चाको पहिलो पटक राहदानी बनाउन १५ हजार राजश्व लिने गरिन्छ।
घुम्ती सेवामा एनआरएनए जापानको तर्फबाट सेवा अवधि भर सहजीकरणका लागि सम्पूर्ण भूमिका निर्वाह गरिने एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए। ‘ दूतावासको घुम्तीटोलीसँग निकटमा रहि व्यवस्थापकीय लगायतका कार्यमा आवश्यक सहजिकरण गरिने छ। अध्यक्ष निउरेले भने – “मुख्यत एनआरएनए जापानको तर्फबाट व्यवस्थापकीय कार्य अन्तर्गत सेवा सञ्चालनका लागि हल व्यवस्थापन, डकुमेन्टटेशनमा सहयोग, टोलीको व्यवस्थापकीय सहयोग, स्वयसेवक परिचालन, जानकारी संकलनका लागि गुगल फारम तयार गरी व्यवस्थित गर्न सहयोग, सूचना तथा जानकारी सम्प्रेषणमा आवश्यक सहजिकरण गरिने छ।”
नेपाल सरकारको नागरिकहरुप्रतिको जवाफदेहिताका लागि नेपाली दुतावासले र जापानमा रहेका नेपालीको सेवामा समर्पित रहि सेवामा सहजता ल्याउन लागि एनआरएनए जापानको व्यवस्थापकीय भूमिकामा घुम्ती सेवालाई बाँकी रहेका क्षेत्रहरुमा सञ्चालन गर्न अब गरिनु पर्ने कार्यका लागि एनआरएनए जापानका पदाधिकारी, सदस्य, एनआरएनए जापान क्षेत्रीय समितिका पदाधिकारी सदस्यहरूको अन्तरक्रियाबाट प्राप्त सुझाबलाई समेत मध्यनजर गर्दै नेपाली दूतावाससँग समन्वयात्मक बैठक गरि कार्य गरिने घुम्ती सेवा सञ्चालनका लागि एनआरएनए जापानको संयोजक तथा उपाध्यक्ष लामिछानेले जानकारी दिए।
सञ्चालित यस सेवाबाट दूतावासद्वारा प्रदान गरिने सेवा मध्य मुख्य गरेर राहदानीसहित अन्य कन्सुलर सम्बन्धि सेवा लिनु हुनका लागि सम्बन्धित क्षेत्रका जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा एनआरएनए जापानले अनुरोध गर्दै सेवा लिनका लागि दूतावासद्वारा जारी गरिएको सूचनामा उल्लेखित आवश्यक प्रक्रिया र कागजात पुरा गरि आउन समेत जानकारी गराएको छ।
सञ्चालित घुम्ती सेवाबाट जापानबासी नेपाली नागरिकले सहज रुपमा सेवा लिन सकुन् भन्ने उदेश्यले सञ्चालित घुम्ती सेवा फुकुओका, ओसाका, गुन्माकेन, ओकिनावा, फुकुसिमा, तोचिगी र हिरोसिमामा सञ्चालन हुने दुतावासले जनाएको छ। मिति निश्चित भएका क्षेत्रहरुमा तोकिएको मितिमा र अन्य मिति निश्चित हुन बाँकी रहेका क्षेत्रको यथाशीघ्र मिति तय गरिने समेत बताइएको छ ।