नेपालका भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ जापानबाट २३ लाख हस्तान्तरण
भूकम्पपीडित बालबालिकाहरूलाई शिक्षामा सहयोगका लागि स्थापना गरिएको शैक्षिक कोषका लागि गैरआवासीय नेपाली संघ जापानले २३ लाख जापानी येन हस्तान्तरण गरेको छ।
गतवर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका प्रभावित बालबालिकहरूलाई उनीहरूको शिक्षामा सहयोग गर्नका लागि संकलित २३ लाख जापानी येन शनिबार टोकियोमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो।
एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नविन निउरेले संयुक्त रुपमा कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीमार्फत त्यस क्षेत्रका स्थानीय सरकारलाई सो कोष स्थापना गरी उद्देश्य अनुरूप सञ्चालनका लागि रकम हस्तान्तरण गरिएको हाे ।
भूकम्पमा परी आमाबुवा वा कोही एकको मुत्यु भएकामध्य केही बालबालिकालाई स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा आधारभुतदेखि एसइईसम्म पढ्नका लागि सहयोग गर्न ‘भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’ स्थापना गरिएकाे थियाे।
अभियानबाट संकलित रकमलाई एनआरएनए आइसिसी र भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारसँगको सहकार्य र नीति बमोजिम निश्चित बैंकमा राखी त्यसबाट प्राप्त ब्याजमार्फत उक्त शैक्षिक कार्यमा सहयोग गरिने एनआरएनए योजना रहेको छ।