नेपाल–जापान सम्बन्ध : ऐतिहासिक मित्रताबाट साझा समृद्धितर्फ
नेपाल–जापानबीच आपसी सम्मान, विश्वास र सहयोगमा आधारित ऐतिहासिक सम्बन्धले सात दशकको गौरवपूर्ण यात्रा तय गरेको छ। प्राचीन सांस्कृतिक समानता, जनस्तरको सद्भाव र निरन्तर कूटनीतिक सहकार्यबाट मजबुत बनेको यो सम्बन्ध पछिल्लो समय आर्थिक सहकार्य र लगानीका नयाँ सम्भावनातर्फ अग्रसर हुँदै गएको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा टोकियोमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जापानी व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न विशेष आह्वान गर्नुभएको छ। कार्यक्रममा बोल्दै उहाँले कठिन समयदेखि विकास साझेदारका रूपमा निरन्तर साथ दिँदै आएको जापानलाई नेपालको भरपर्दो मित्र राष्ट्रका रूपमा उल्लेख गर्नुभयो।
राष्ट्रपति पौडेलज्यूले नेपालको जलविद्युत् र पर्यटन क्षेत्र दीर्घकालीन सम्भावना बोकेका प्राथमिक क्षेत्र भएको बताउँदै जापानी प्रविधि, अनुशासन र अनुभवले नेपालमा दिगो विकास र आर्थिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। साथै, नेपाल सरकारले लगानीमैत्री नीति, कानुनी सुधार तथा स्थिर वातावरण निर्माणमार्फत विदेशी लगानीलाई प्रोत्साहन गर्दै आएको जानकारी पनि उहाँले दिनुभयो।
उहाँका अनुसार नेपाल–जापान सहकार्य अब केवल मित्रतामा सीमित नरही अवसर, लगानी र साझा समृद्धितर्फ उन्मुख हुँदै गएको छ। सात दशक लामो यो सम्बन्ध आज दुवै देशका जनताबीचको विश्वास, विकास र भविष्य निर्माणको सशक्त आधारका रूपमा स्थापित हुँदै गएको सन्देश उक्त समारोहमार्फत प्रवाह गरिएको छ।