एनआरएनए जापानको क्षेत्रीय भेला २०२६ सम्पन्न
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आयोजित क्षेत्रीय भेला २०२६ भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
सन् २०२६ जनवरी १३ तारिख सेंदाइ बिजनेस सपोर्ट सेन्टर, सेन्दाइ (जापान) मा सम्पन्न भेलाले संगठनात्मक एकता सुदृढ गर्ने, क्षेत्रीय समितिहरूलाई थप सक्रिय बनाउने तथा पारदर्शिता र सुशासनलाई संस्थागत गर्ने निर्णय गरेको छ।
भेलाले एनआरएनए जापानभित्र आपसी समझदारी, सहकार्य र एकतालाई अझ मजबुत बनाउँदै राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समितिहरूबीच निरन्तर समन्वय कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, क्षेत्रीय समितिहरूलाई नियमित बैठक, कार्यक्रम तथा सक्रिय सहभागितामार्फत संगठनलाई बलियो बनाउने निर्णय गरिएको छ।
घोषणा पत्रअनुसार नेपाली भाषा, कला, संस्कृति, चाडपर्व र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि नियमित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, जापानमा बसोबास गर्ने नेपाली समुदायका समसामयिक समस्या पहिचान गरी समाधानमुखी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
भेलाले आगामी कार्यक्रमहरूलाई स्पष्ट, व्यवहारिक र परिणाममुखी कार्ययोजनाका आधारमा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने, आर्थिक तथा प्रशासनिक प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने तथा आवश्यक परे बैंक खाता सञ्चालनलगायत प्रक्रिया सुधार गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, एनआरएनए जापानद्वारा आयोजना गरिने केन्द्रीय कार्यक्रमहरूलाई सफल बनाउन सबै क्षेत्रीय समितिहरू सक्रिय रहने, क्षेत्रीय तहबाट प्राप्त सुझावका आधारमा संगठनात्मक सुधार अघि बढाउने सहमति जनाइएको छ।
एनआरएनए जापानले क्षेत्रीय भेलाबाट लिइएका निर्णयहरूले संस्थागत एकता, उत्तरदायित्व र जनमुखी सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।






