जापानमा नेपाली समुदायका लागि प्रेरणादायी मोटिभेसनल कार्यक्रम हुँदै, राजेश हमाल प्रमुख वक्ता
टोकियो । जापानमा बसोबास गर्ने नेपाली समुदायको प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष Motivational Program आयोजना गरिने भएको छ। नेपाली सिने जगतका महानायक राजेश हमालज्यूको प्रमुख उपस्थितिमा सञ्चालन हुने उक्त कार्यक्रमको शीर्षक “सपना, साधना र सफलता : युगदेखि युगसम्म” राखिएको छ।
गैरआवासीय नेपाली संघ (NRNA NCC–Japan) को आयोजनामा तथा INLS Japan को सह–आयोजनामा हुन लागेको यो प्रेरणादायी कार्यक्रम आगामी फेब्रुअरी ११ (बुधबार) का दिन Nakano Zero Hall, Tokyo मा साँझ ६:३० बजेबाट सुरु हुनेछ।
कार्यक्रममा महानायक राजेश हमालज्यूले आफ्नो जीवन यात्रा, निरन्तर साधना, संघर्ष र सफलतासम्मको अनुभव साझा गर्दै विशेष प्रेरणात्मक मन्तव्य प्रदान गर्नुहुनेछ। साथै, उहाँद्वारा लिखित चर्चित पुस्तक “युगदेखि युगसम्म” सहभागीहरूले लेखक स्वयंको हस्ताक्षरसहित प्राप्त गर्न सक्ने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ, जसले कार्यक्रमलाई थप स्मरणीय बनाउने अपेक्षा गरिएको छ।
यो Motivational Program विशेषगरी युवा पुस्ता, विद्यार्थी, श्रमिक तथा व्यवसायीहरूलाई लक्ष्य निर्धारण, आत्मअनुशासन र सकारात्मक सोचतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा सहभागी हुन कुनै पनि प्रवेश शुल्क नलाग्ने (Free Entry) व्यवस्था गरिएको छ।
कार्यक्रमको निरन्तरताका रूपमा टोकियो बाहेक जापानका अन्य सहरहरू ओसाका, फुकुओका, शिजुओका र नागोया मा समेत यस्तै प्रकारका प्रेरणादायी कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको जानकारी NRNA Japan ले दिएको छ। यसले जापानभर छरिएर रहेका नेपाली समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास लिइएको छ।
टोकियो तथा आसपास क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई यसलाई सफल बनाउन NRNA NCC–Japan हार्दिक अनुरोध गर्दछ ।
