जापानबासी नेपालीहरुका साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा संयन्त्र गठन गरिने
जापानबासी नेपालीहरु बीच विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आइतबार जापानको टोकियोमा सम्पन्न ‘जापानमा रहेका संघ संस्थासँग समन्वयात्मक सहकार्यका लागि अन्तरक्रिया’ कार्यक्रमबाट उक्त फोरम निर्माण गरेर नेपालीको वृहत्तर हितको लागि समन्वयकारी भूमिका गर्दै मानवीय समस्या समाधानमा केन्द्रित रहने निचोड निकालिएको हो ।
साझा फोरमको निर्माणका लागि भुषण घिमिरे, तिलक मल्ल, डा. बलराम श्रेष्ठ, जिज्ञानकुमार थापा र सालिकराम भण्डारी रहेको एक कार्यदल गरि उक्त कार्यदलको समयाबधि एक हप्ता सिमामा संयन्त्र गठनको खाका र कार्यविधि तय गर्ने साथै संयन्त्रका लागि नामावली सिफारिश गर्ने सम्मको जिम्मेबारी प्रदान गर्ने गरिएको छ ।
जापान स्थित नेपाली समुदायको हितका लागि स्थापित भै क्रियाशिल रहेका सामाजिक संघ संस्था र नेपाली दूतावाससँग नेपालीहरूलाई केन्द्रित गरि सहयोग र सेवा प्रदान गर्दा एकरूपता ल्याउदै समन्वयात्मक र सहकार्यमा कार्य गर्दा सेवा प्रवाहमा सरलता प्रभावकारी र दोहोरोपनामा कमि ल्याउनलाई सहज हुनेमा अन्तरक्रिया फलदायी रहेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए ।
‘सहकार्यको आवश्यकता, औचित्य र त्यसपछि गरिनुपर्ने भूमिकासहितको जिम्मेबारीका बारेमा साझा बुझाई कायम भएको छ ।’ अध्यक्ष निउरेले भने- “साझा फोरमको रूपमा गठन गर्न लागिएको सम्यन्त्रलाई कामकाजी बनाउन र समस्याको (इण्ट्री) प्रस्थान विन्दु बनाइनका लागि उक्त फोरम उपयुक्त हुने छ ।”
जापानका लागि नेपाली राजदूतावासका कार्यबाहक राजदूत अम्बिकाप्रसाद जोशीले राजदूतावासले समन्वकारी भूमिका निर्बाह गर्न तयार रहेको बताउदै व्यवस्थित ढंगले सहयोग आदानप्रदान गरिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जापानका नेपालीहरुको वर्तमान अवस्थाको बारेमा एनआरएनका पूर्व महासचिव जिज्ञानकुमार थापा, नेपाली संघसंस्थाहरुबीच सहकार्य र समन्वय कायम गर्दै समस्या समाधानका लागि साझा धारणा बनाई अगाडि बढ्नका लागि तय गरिनुपर्ने मार्गचित्र बिषयक अवधारणपत्र पत्रकार तिलक मल्ल, जापानमा एनआरएन, संघसंस्था र नेपाली राजदूतावासबीचको कार्यगत एकता सम्बन्धमा एनआरएन आइसीसी उपाध्यक्ष भूषण घिमिरे र जापानमा बस्दै गर्दा अत्यन्त ध्यान दिनुपर्ने फौजदारी तथा श्रम सम्बन्धि कानूनी प्रावधानका बारेमा जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलाराम श्रेष्ठले प्रस्तुतिकरण दिएको कार्यक्रममा उपस्थित विभिन्न व्यक्ति व्यक्तित्वले राय सल्लाह सुझाव र प्रतिक्रिया राखेका थिए ।
जापानमा क्रियाशील अधिकांश संघ सस्थाको सहभागिता रहेको उक्त अन्तरक्रियाबाट १६ बुंदे साझा निष्कर्ष निकालिएको एनआरएनए जापानका प्रवक्ताद्वारा सोमबार जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।
जापानबासी नेपालीको हक हित र नेपालको चिनारीलाई थप उचाइमा पुर्याउनका लागि एनआरएनए जापान भूमिका र गतिविधि केन्द्रीत हुनुपर्ने, कार्यक्रमहरु प्रचारमुखी भएकाले परिणाममुखी गराइनु पर्ने, नेपाली संघसंस्थाहरुद्वारा आयोजना गरिने कार्यक्रमलाई अधिकतम ब्यवस्थित गर्ने, नकारात्मक समाचारहरुलाई न्युनिकरण गर्दै सकारात्मक सन्देश दिने समाचारलाई प्राथमिकता दिन अभिप्रेरित गरिनुपर्ने लगायत रहेका छन ।
प्रेस नोटमा उल्लेख भएको अन्तरक्रिया कार्यक्रमका अन्य निष्कर्षहरूमा आर्थिक अभियान संचालनलाइ व्यवस्थित र उदेश्यमुलक बनाउन जोड दिदै सहयोग फण्ड संचालनको नीति अपनाउनु पर्ने, जापानी नीति नियम र कानूनको सामान्य ज्ञानको कमिले कानुनी झमेलामा परिरहेको पाइएकाले सचेतनामूलक कार्यक्रमहरु संचालन गरिनु पर्ने आवश्यकता औल्याइएको छ ।
कार्यक्रममा नेपाली राजदूताबास, एनआरएनए आइसीसीका जिम्मेवार व्यक्तित्व, एनआरएनए जापानका पदाधिकारीसहित सदस्य,जापानमा क्रियाशिल संघ संस्थाका प्रमुख वा प्रतिनिधि, क्षेत्रीय समितिका प्रतिनिधि, समाजका प्रतिष्ठित व्यक्तित्व, व्यवसायी पत्रकार लगायतको सहभागिता रहेको थियो ।
एनआरएन जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता र नेपाली राजदूतावासका उपनियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यतामा भएको सो संयुक्त अन्तरक्रिया कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक सिध्दार्थ श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो । यसैगरी प्रवक्ता खगराज गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बिषयमा प्रवेश गराएका थिए ।
यसैगरी कार्यक्रममा टिप्पणीकारको भूमिकामा रहेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष रबिन शर्माले कार्यक्रमका सम्बन्धमा आफ्नो समीक्षात्मक टीप्पणी प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्तमा, छलफलमा उठेका बिषयहरुसंग सम्बन्धित जिज्ञासाको अध्यक्ष निउरेले जबाफ दिएका थिए । अन्तरक्रिया कार्यक्रमको महासचिव टिकाराम खरेल र प्रवक्ता खगराज गौतमले सञ्चालन गरेका थिए ।