टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया भएको छ। हरेक बर्ष अक्टोबर ११ मा मनाइने दिवसमा विश्वभरका गैरआवसिय अभियान्ताहरु फरक फरक कार्यक्रम आयोजना गरेर मनाउने क्रम्मा जापान एनआरएनएले अन्तरक्रिया गरेको हो।
विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षण, सामाजिक सुरक्षा, आपसी सहयोग तथा मातृभूमिको विकासमा योगदान पु¥याउने उद्देश्यले स्थापित एनआरएनएका लागि संस्थागत एकता र विश्वास महत्त्वपूर्ण आधार रहेको एनआरएनए जापानका अध्यक्ष सुबास लामिछानेको भनाइ थियो । उनले जापानमा नेपाली समुदायको उपस्थिति विस्तार हुँदै जाँदा विद्यार्थी, श्रमिक, व्यवसायी तथा विभिन्न पेसामा आबद्ध नेपालीका समस्या र आवश्यकतासमेत विविध बन्दै गएका भन्दै यस्तो अवस्थामा एनआरएनए जापानले समुदायका साझा समस्या पहिचान गरी समाधानका लागि प्रभावकारी पहल गर्नुपर्ने जोड दिए।
विशेषगरी नेपाली श्रमिकका हकहित, विद्यार्थीलाई आवश्यक सहयोग, आपत्कालीन उद्धार, सामाजिक सुरक्षा तथा नेपालमा विपद् पर्दा राहत संकलन र सहयोग परिचालनमा संस्थाको भूमिका महत्त्वपूर्ण हुने निर्वतमान अध्यक्ष नविन निउरेको तर्क थियो।
एनआरएनए केवल एउटा सामाजिक संस्था मात्र नभई विदेशमा रहेका नेपालीलाई साझा उद्देश्यमा जोड्ने माध्यम पनि भन्दै संस्थाभित्र आपसी विश्वास, पारदर्शिता, जवाफदेहिता र विधिसम्मत कार्यशैलीलाई प्राथमिकता दिन आवश्यक रहेको सुनाए।
नेतृत्व तथा सदस्यहरूबीच देखिने मतभेदलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै सबैलाई समेट्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता माथि एनआरएनए आईसीसीका बरिष्ठ उपाध्यक्ष रविन शेरचनले औलाए। उनले जापानमा विभिन्न नेपाली संघसंस्था सक्रिय रहेकाले उनीहरूबीच समन्वय र सहकार्य विस्तार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण भएकाले ध्यानदिनुपर्नेमा जोड गरेका हुन्।
एनआरएनएको स्थापना दिवसका उपलक्ष्यमा केक काटेर २३ औं बार्षिक उत्सव मनाइएको हो। जापान टोकियोमा भएको अन्तरक्रियामा पूर्वअध्यक्ष सहितका सरोकारवालाहरु सहभागी थिए।


